कुनै समय गुमनाम थियो, प्युठानको भित्रिकोट दरबार। प्राय भित्रिकोटको इतिहासबारे बेखबर थिए। ऐतिहासिक भित्रिकोट दरबार पछिल्लो समय पर्यटक भित्र्याउने तरखरमा छ। स्थानीय संस्कृति, सोरठी, मारुनी नाँचसहित प्युठान नगरपालिका –४ भित्रिकोट र अन्य पर्यटकीय क्षेत्र पवद्र्धन गर्ने उद्देश्यले स्थानीय तथा जनप्रतिनिधि जुरमुराएका छन्। यो ठाउँको इतिहासलाई विश्वसामू चिनाउन पर्यटकीय पूर्वाधारको विकासमा स्थानीय सरकारले ध्यान दिन थालेको छ।
इतिहासमा बाइसे र चौबिसे राज्यमा विभाजित नेपालको त्यो समयको चौबिसे राज्य अन्तर्गतको शक्तिशाली मानिने भित्रिकोट राज्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको अब्बल सम्भावना बोकेको क्षेत्रको रूपमा रहेको भित्रिकोटमा पर्यटकको मोह बढ्दै गएको छ। तत्कालीन चौबिसे राज्य अन्तर्गत पर्ने भित्रिकोटमा चन्दवंशी राजाहरूले राज्य गरको डा. गीतु गिरीले लेखेको इतिहासमा उल्लेख छ। तत्कालीन समयमा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरेर नेपाल राज्यमा गाभेको थियो। युद्धबाट पराजित भएपछि तत्कालीन चन्द राजाका फौजहरू भित्रिकोट छोडी रोल्पाको क्युरीस्थित सुरक्षित ठाउँमा गएको इतिहास पाइन्छ।
तत्कालीन चौबिसे राज्य अन्तर्गत पर्ने भित्रिकोटमा १४ राजाहरूले राज गरेको डा. गिरीको ‘प्युठान राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ। भित्रिकोटका प्रथम राजा लटराज हुन् भने १४औँ राजा रूद्रप्रताप चन्दराज हुन्। वि.सं. १७६० को ताम्रपत्रअनुसार पृथ्वीपति नवौँ पुस्ताका हुन्। उनी अघि ८ राजाहरूले राज गरेको डा. गिरीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। ऐतिहासिक महत्त्वको क्षेत्र भित्रिकोटमा पूर्वाधारमा केही सुधार भएपछि पर्यटकको रोजाईमा पर्न थालेको छ।
ऐतिहासिक दरबार, वनवाटिका, स्थानीय संस्कृति, लिस्नेलेक क्षेत्र, धौलागिरी, माच्छापुच्छ्रे, सिस्नेलगायत हिम श्रृंखलादेखि प्युठानका अधिकांश क्षेत्रको दृश्यावलोकन गर्न सकिने, ‘फ्रि वाइफाई जोन’को समेत व्यवस्था रहेको छ।
तत्कालीन समयमा दरबारको सुरक्षाका लागि चारैतिर लगाइएको पर्खाल र झण्डै डेढ सय मिटर लामो भर्याङ छ। दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, दरबारको नजिकै राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियारको अहिले अवशेष मात्र छन्।
हाल संरक्षित क्षेत्रमा नेपाली सेनाले तत्कालीन हातहतियारको संरक्षण गर्नका लागि सानो भवन निर्माण गरिदिएको छ। संरक्षित घर टहरा बनेपछि हातहतियार सुरक्षित भएको स्थानीय खगेश्वर थापाले बताए। ‘सुनले लेपन गरिएको तरबार, मन्दिरमा भएका घण्टा, बहुमूल्य धातुको गजुर हराएपछि घरमा राखेर सुरक्षित गरिएको थियो’, उनले भने, ‘तरबार, भाला, चुपीलगायतका हतियारहरूको मन्दिरको खड्कथानको जिर्णोद्वारपछि पुनः मन्दिरमै लिएर राखिएको छ।’
२०६८ मा प्याराग्लाइडिङको सफल परीक्षणपछि ऐतिहासिक भित्रिकोट दरबार पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने प्रयत्न भएका हुन्। पर्यटन प्रवद्र्धन गर्न थालिएपछि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्।
प्युठानको सदरमुकामबाट ९ किलोमिटर उत्तरीपश्चिममा अवस्थित भित्रिकोट दरबार क्षेत्र हाल प्यूठान नगरपालिका ४ मा पर्दछ। वि.सं. १९९० को भूकम्पले भत्किएको भित्रिकोट दरबार अहिले भग्नावशेष अवस्थामा बदलिएको छ, माटो तोरीको पिना, मासको दाल मिसाएर बनाइएका इँट्टाका भग्नावशेष दरबार क्षेत्रमा भेटिन्छ, ९० सालभन्दा पहिले दरबार सुरक्षित रहेको भए पनि भूकम्पले ढलेको स्थानीय दालबहादुर थापाले बताए।
पुरातत्व विभाग पनि भित्रिकोटको उत्खनन् गर्ने तयारीमा रहेको बताइएको छ। भित्रिकोट पर्यटकीय पूर्वाधारको निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट निर्माण कार्य सुरु भएको छ। परियोजना रिर्पोटमा धनञ्जय गोत्रीय भण्डारीको उद्गम स्थल, पर्यावरणीय दृष्टिकोणले रमणीय क्षेत्र माझकोटको लेख, मगर संस्कृति, गुरुङ संस्कृतिलगायतका सांस्कृतिक विषयहरू, जिल्लाकै तरकारी उत्पादनमा पहिलो गुरुङ गाउँलगायतका क्षेत्रलाई जोडिएको प्युठान नगरपालिकाले जनाएको छ।
भित्रिकोटको पर्यटकीय पूर्वाधार निर्माणका लागि करिब २५ लाख बजेट खर्चिएको छ। तर बजेट सन्तुलित हिसाबले प्रयोग नहुँदा ठूलो बजेट सानो विकास भएको स्थानीयहरूले गुनासो गरेका छन्। नेपाल पर्यटन वोर्ड, जिल्ला समन्वय समिति प्युठान नगरपालिका, समाजसेवी व्यक्तिहरूको सहयोगमा केही पूर्वाधार निर्माण गरिए पनि बजेटअनुसार काम नदेखिएको स्थानीय खगेश्वर थापाले बताए।
स्थानीय युवाको रोजगारी, कृषि उपजको वजारीकरण, संस्कृतिको पवद्र्धन हुने स्थानीयको आशा रहेको स्थानीयवासी तथा नेपाली कांग्रेसका जिल्ला सभापति अमर भण्डारीले बताए। समृद्ध प्युठानको लक्ष्य हासिल गर्न सबैभन्दा पहिले पर्यटकीय क्षेत्र विस्तार गर्नुपर्ने भन्दै भण्डारीले स्थानीय सरकार, राजनीतिक दल, युवाहरू लागि पर्नुपर्ने बताए।
भित्रिकोटसंगै नगरपालिकाको पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिका नै लागि परेको प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए। भित्रिकोटलाई पर्यटकीय क्षेत्रको रूपमा पर्वद्धनका लागि गुरुयोजना तयार गरी भित्रिकोटलाई नगर क्षेत्रका पर्यटकीय स्थल अन्य स्थानका स्थलहरूको समन्वयमा विकासको योजना रहेको कक्षपतिको भनाइ छ।
Read more at: http://thahakhabar.com/news/52589